धमाधम विद्यालय सञ्चालन हुन थाले

समाचार

म्याग्दीका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका ती विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।

सरकारले अघि सारेको स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने स्मार्ट लकडाउन अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए ।

कार्यपालिकाको निर्णयअनुसार १० माविसमेत सबै ३७ विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन अध्यापन सुरु भएकामा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *